साउन ३२, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुषालले नेकपा (माओवादी केन्द्र)सँग एकताको कुरा हल्ला मात्रै भएको बताएका छन् । एक सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले आफूहरु एकताको बिन्दुमा पुगिनसकेको बताएका हुन् । भुषालले भने, ‘समाजवादी मोर्चा बनाएका थियौँ । मोर्चाबाट हामीले कम्युनिष्ट आन्दोलनको एकताको आधारहरु तयार पार्न चाहन्थ्यौँ । तर दुर्भाग्य त्यस्तो हुन सकेन ।’
समाजवादी मोर्चा प्रचण्डलाई संसदभित्र म्याजिक नम्बर बनाउन मात्रै काम लागेको समेत भुषालले बताए । नेतृत्व भागवण्डाको आधारमा हुने एकताको पक्षमा आफ्नो पार्टी नरहेको समेत उनले खुलाए । ‘पार्टीलाई औपचारिक रुपले केहि पनि थाहा छैन’–भुषालले भने ।
गरिएका सहमतिप्रति पनि कुनै विश्वास नभएको भन्दै भुषालले चिन्ता समेत व्यक्त गरेका छन् । उनले भने, ‘हिजो पनि हामीलाई प्रधानमन्त्रीको कुरा भएको थियो । जतिखेर कांग्रेस, माओवादी र हामीसमेतको समीकरण बन्यो । त्यो भत्कियो ।’