मंगलवार, कार्तिक ११ गते २०८३

  • राजनीति
  • तनहुँका युवा नेता मनराज गुरुङ एमालेमा...

तनहुँका युवा नेता मनराज गुरुङ एमालेमा समाहित

तनहुँका युवा नेता मनराज गुरुङ एमालेमा समाहित

गण्डकी नेपाल
बिहिवार, फाल्गुण ७ २०८२
गण्डकी नेपाल
बिहिवार, फाल्गुण ७ २०८२
  • फाल्गुण ७, दुलेगौँडा । तत्कालीन नेकपा (माओवादी केन्द्र)का शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मनराज गुरुङ ठूलो समूहका साथ नेकपा (एमाले)मा समाहित भएका छन् । शुक्लागण्डकी वडा नं. १२ का पूर्व जननिर्वाचित अध्यक्ष समेत रहेका युवा नेता मनराज आज एक कार्यक्रमका बीच एमालेमा समाहित भएका हुन् । गुरुङको नेतृत्वमा नेपाली कम्युनिष्ट पार्टी शुक्लागण्डकी नगर कमिटीका सचिव सरोज पौडेलसहित केही नगर कमिटी सदस्यहरु र शुक्लाका ३ वटा कमिटी नै आज एमालेमा समाहित भएको छ । 

    शुक्लागण्डकीको दुलेगौँडामा आयोजित पार्टीमा समाहित कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सचिव तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले मनराजजस्ता क्षमतावान युवा नेताहरुको प्रवेशले तनहुँ मात्रै नभएर गण्डकी प्रदेशकै नेकपा (एमाले) थप मजबुत भएको दावी गरे । अधिकारी भने, ‘उहाँहरु सचेत युवा भएकाले एमाले नै सबैभन्दा ठीक पार्टी हो भन्ने बेलैमा निष्कर्ष निकाल्नुभयो । अरु कमरेडहरु पनि बिस्तारै यही बाटोमा आउनुहुन्छ ।’

    समाहित कार्यक्रममा नेता मनराज गुरुङले नेकपा (एमाले) संकटमा रहेको तर सही भएको हुनाले आफूहरुले साथ दिएको प्रष्ट पारे । ‘म कहिले पुतली त कहिले झुसिलकिरा जस्तो देखिएँ, तर खासमा यार्सागुम्बा थिएँ’, मन्तव्यका क्रममा भावुक हुँदै नेता गुरुङले भने, ‘सैद्धान्तिक हिसाबले म सधैँ एमाले (एकीकृत मार्क्सवादी–लेनिनवादी) नै थिएँ, तर आजबाट सांगठानिक हिसाबले पनि एमाले भएँ ।’ यो बीचमा भएका राजनीतिक छलफल कुनै सँस्थागत नभएकाले यसलाई जोडेर अस्थिर भनेर आरोप लगाउनुको औचित्य नभएको उनको भनाई थियो । खुद्रे पार्टीसँग एकता गर्दै कम्युनिष्ट आन्दोलनको मूल प्रवाह एमालेलाई कमजोर बनाउने गलत प्रयत्न भएकाले आफूहरु एमालेमा समाहित भएको उनले प्रष्ट पारे ।

    नेकपा (एमाले) तनहुँका उपाध्यक्ष राजेश्वर ढकालको अध्यक्षतामा सम्पन्न सो समाहित कार्यक्रममा इन्चार्ज एवं तनहुँ निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार केदार सिग्देल, अध्यक्ष हरिराज कँडेल, पूर्वअध्यक्ष श्रीप्रसाद श्रेष्ठलगायत तनहुँका अधिकांस नेताहरुले पार्टीमा समाहित भएका नेताहरुलाई स्वागत गरेका थिए । कास्कीका नेताहरु दिलिप न्यौपाने, नबराज बराल लगायतका नेताहरु पनि कार्यक्रममा सहभागी थिए ।

    सम्बन्धित खबर

    © 2026 All right reserved to gandakinepal.com  | Site By : Sobij