कार्तिक ११, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो साख घटेको टिप्पणी भएको भन्दै सोको खण्डन गरेका छन् । सरकारमा गएपछि आफ्नो साख घटेको हल्ला प्रायोजित मात्रै भएको उनको दावी छ । नेकपा (एमाले)को भूतपूर्व प्रहरी तथा सैनिक सङ्गठनमा प्रधानमन्त्री ओलीले आउँदो चुनावमा आफू कति लोकप्रिय भन्ने देखिने जिकिर गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गरिरहेको आन्दोलनबारे टिप्पणी गर्दै ओलीले सहकारी अपचलनबारे संसदीय समितिको प्रतिवेदनलाई सरकारले कार्यान्वयन गरिरहेको बताए । अनुसन्धान प्रक्रियामा रहेका व्यक्तिका पक्षमा अदालत परिसरमै उफ्रिउफ्रि कराउनु लोकतन्त्र मान्यता विरुद्ध भएको उनको तर्क थियो ।
सोहि कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतीय नाकाबन्दीको स्मरण गर्दै राष्ट्रियतका विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे । उनले भने, ‘सरकार पाउन वा टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी गर्नेजस्ता घिनलाग्दा काम हामीबाट हुन सक्दैन ।’