पुस १, काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी नेकपा (एमाले) भित्र शङ्कर पोखरेल र विष्णु पौडेलको छुट्टाछुट्टै गुट नरहेको दावी गरेका छन् । केन्द्रीय सङ्गठन विभागले आयोजना गरेको कार्यशालालाई सम्बोधन गर्दै ओलीले यस्तो दावी गरेका हुन् । महासचिव पोखरेल र उपाध्यक्ष पौडेलकै सामु ओलीले भने, ‘म पार्टीको अध्यक्ष हुँ । सबैको छाहारी बनेको छु । सबै बराबर हुन्, कसैलाई अन्याय गरेको छैन ।’
सोही कार्यक्रममा प्रधानमन्त्री समेत रहेका ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नउचाल्न समेत चेतावनी दिए । एमालेमा भण्डारीलाई नेतृत्वमा ल्याउन कसरत भएको चर्चा चलिरहेका बेला ओलीले चेतावनीको शैलीमा भने, ‘पूर्वराष्ट्रपतिलाई गल लाउन जरुरी छैन ।’
कतिपयलाई नभेटेकोमा गुनासो रहेको बताउँदै ओलीले आफूले सकेसम्म सबैलाई भेट दिएको बताए । उनले भने, ‘भेट्नेहरुले फेसबुकमा फोटो राखेकै छन् । फोटो नखिचेका, फेसबुकमा नराखेकाहरुलाई पनि म उत्तिकै समान रुपले हेर्छु ।’