माघ २७, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले शेरा दरबार र लडाकु शिबिर (क्यान्टोनमेन्ट)बारे छानबिन गर्न सरकारलाई चुनौति दिएका छन् । पूर्वअर्थमन्त्री समेत रहेका नेता पुनले पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको आफ्नै पार्टीको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन् । ‘२०४६ यता सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग बनाइयोस्’, पुनको चुनौति थियो ।
आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले म र मेरो पार्टीका नेताहरुबारे पनि छानबिन गर्न सदनमै आग्रह गरेको स्मरण गराउँदै पुनले स्वीस बैंक, कम्बोडिया, गिरीबन्धु, यति र ओम्नीका विषयमा पनि छानबिन हुनुपर्ने बताए । सरकारप्रति निकै आक्रामक बनेका पुनले स्वार्थ समूहको षड्यन्त्रमा प्रचण्ड नेतृत्वको सरकार ढालिएको समेत दावी गरे ।