माघ २७, काठमाडौँ । नेकपा (एमाले)का सांसद पदम गिरीले तत्कालीन नेकपा (माओवादी) पार्टीको नेतृत्वमा भएको सशस्त्र युद्धले मुलुक ५० वर्ष पछाडि धकेलिएको दावी गरेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै ३५ वर्षसम्म एमाले–काङ्ग्रेसले देशमा केही नगरेको भन्ने भ्रामक अभिव्यक्ति दिएपछि सोको ‘काउन्टर’ गर्दै गिरीले यस्तो दावी गरेका हुन् ।
पूर्वमन्त्री समेत रहेका गिरीले आइतबार प्रतिनिधि सभाको सदनमा भने, ‘युद्धको आगो नबलेको भए यो मुलुकमा खरबौँ रुपैयाँको आर्थिक नोक्सानी पर्ने थिएन ।’ युद्धकै कारण मुलुक पछाडि परेको बारे खुल्ला छलफल गर्न समेत उनले माओवादी नेतृत्वलाई चुनौति दिएका छन् ।