फाल्गुण २५, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बचाउन पूर्वराजा आउनुपर्ने अवस्था नभएको प्रतिक्रिया दिएका छन् । राजावादीहरुको आन्दोलनका सम्बन्धमा ओलीको प्रश्न छ, ‘राजा आउ देश बचाउ ! के भनेको यस्तो ? देश के भएको छ र कसैले बचाउनुपर्ने ?’
सुदुरपश्चिमको प्रदेश सभालाई सम्बोधन गर्दै नेकपा (एमाले)का अध्यक्ष समेत रहेका ओलीले राजावादीहरुको क्रियाकलापबाट आफू अचम्मित भएको पनि टिप्पणी गरे । राजावादीहरुलाई नम्र शैलीमा उनले कडा चेतावनी समेत दिएका छन् । ‘मलाई साथ दिनुस्, म आउँछु देश बचाउँछु रे ! देश के भएको छ ?’, प्रधानमन्त्रीको प्रश्न थियो ।
राजनीतिमा आउने भए आफूहरुले स्वागत गर्ने तर जनता भाँड्दै हिँडे परिणाम राम्रो नहुने समेत ओलीले राजावादीहरुलाई चेतावनी दिएका छन् ।