जेठ ३, काठमाडौँ । नेपाली काङ्ग्रेसका प्रभावशाली नेता शेखर कोइरालाले सरकारको शैलीप्रति नै प्रश्न गरेका छन् । गत महाधिवेशनमा शेरबहादुर देउवासँग पार्टी सभापतिमा पराजित भएका कोइरालाले देशमा सुशासन र भ्रष्टाचार अन्त्य नभई बढ्दै गएको समेत आरोप लगाएका छन् । जनतामा निराशा आएको समेत उनको दावी छ ।
काठमाडौँमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा कोइरालाले रेमिट्यान्स भित्र्याउने नाममा अवैध काम भइरहेको समेत शङ्का व्यक्त गरेका छन् । गभर्नर नियुक्तिको सन्दर्भमा संविधान नै मिचिएको समेत उनले खुलासा गरे । कोइरालाले सरकारसँग प्रश्न गरे, ‘संविधानमा गभर्नर नियुक्तिको टर्म सकिनुभन्दा एक महिना अघि नै नियुक्ति हुनुपर्ने कुरा लेखेको छ । चैत २७ गते टर्म सकियो । बैशाख बितिसक्यो । जेठमा यो हाल छ । यसरी कति दिन चल्छ देश ?’
कोइरालाले गभर्नर नियुक्तिमा चलखेल भएको पनि आशङ्का व्यक्त गरेका छन् । गभर्नर नियुक्तिमा पनि यहि अवैध कामको कनेक्शन भएको हुन सक्ने उनको आशङ्का थियो । उनले चिन्ता पोखे, ‘सभापतिसँग कुरा गर्दा राम्रै मान्छे हुन्छ, डेमोक्रेट नै हुन्छ भनेर आश्वस्त पार्नुभएको छ । तर कुरा सोच्दा कतै गडबढ त भइरहेको छैन भन्ने चिन्ता छ ।’