असार ५, पोखरा । नेपालको सार्वजनिक ऋण बढ्दै गएको छ । ऋण बढ्दै गत जेठ ३१ मा ऋण २६ खर्ब ५४ अर्ब ६६ करोड पुगेको तथ्याङ्क सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको हो ।
सरकारले चालु आर्थिक वर्ष २०८१÷०८२ को साउनदेखि जेठसम्ममा ४ खर्ब १४ अर्ब १९ करोड ऋण लिएको छ । अब आन्तरिक ऋण १२ खर्ब ७२ अर्ब ५३ करोड पुगेको छ । जुन कुल ग्राहस्थ उत्पादन (जिडिपि)का आधारमा २२ प्रतिशतभन्दा माथि हो ।
बाह्य ऋण १३ खर्ब ७२ अर्ब १२ करोड पुगेको छ । यो जिडिपिका आधारमा २४ प्रतिशतभन्दा माथि हो । विनिमय दरमा आएको उतार–चढाबले पनि ७३ अर्ब २ करोड ऋणभार थपिएको हो । ११ महिनामा ऋण वृद्धि खुद २ खर्ब २० अर्ब ५८ करोड बराबर भएको बताइएको छ ।
नेपाली मुद्रा कमजोर हुँदा त्यसले ऋणभार समेत बढाईरहेको कार्यालयले जनाएको छ । विदेशी मुद्रामा लिएको ऋण सरकारले विदेशी मुद्रामै तिर्नुपर्ने हुन्छ ।
गत असारमा १ सय ३४ रुपैयाँ रहेको अमेरिकी १ डलरको मूल्य यो असारमा प्रतिडलर ४ रुपैयाँले बढेको छ । यसले पनि सार्वजनिक ऋणभार ७३ अर्ब २ करोड रुपैयाँ बढाएको हो ।