साउन ३२, काठमाडौँ । नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नै पार्टीभित्रै कमजोर बन्दै गएका छन् । सरकारको नेतृत्वबाट हट्नेबित्तिकै पार्टीको नेतृत्वबारे पनि प्रश्न उठ्न थालेपछि उनी कमजोर बन्दै गएका हुन् ।
उपमहासचिव जनार्दन शर्माले लिखित रुपमै पार्टीको नेतृत्व छोड्न प्रचण्डलाई सुझाव समेत दिएका छन् । पार्टी यो स्थितिमा आउनुको पछाडि नेतृत्व नै जिम्मेवार रहेको र पार्टीभित्र परिवारवाद हावी भएको शर्माको आरोप छ । पार्टीको बैठकमा प्रचण्डले आगामी चुनावअघि आफू प्रधानमन्त्रीको दौडमा नलाग्ने समेत बताएका थिए ।
पटक–पटक विभाजन खेपेको माओवादी पार्टी नै निरन्तर कमजोर बन्दै गएको छ । कहिले काङ्ग्रेस त कहिले एमालेसँग मिल्दै प्रधानमन्त्री भएका प्रचण्ड काङ्ग्रेस र एमाले नै मिलेपछि अप्ठ्यारोमा परेका छन् । वाह्य अप्ठ्यारोकै बेला उनलाई पार्टीभित्र पनि नेतृत्वबारे प्रश्न उठ्न थालेको हो ।
पार्टीभित्रको अप्ठ्यारोलाई टार्न प्रचण्डले वाम एकता भन्न थालेका छन् । तर, वाम एकता पनि सजिलो देखिँदैन । पार्टी विभाजन गरेर हिँडेका नेत्रविक्रम चन्द ‘विप्लव’लाई ल्याउने प्रचण्डको योजना छ । तर, उनलाई एकताको नाममा पार्टीको महत्वपूर्ण जिम्मा दिन नहुनेमा माओवादीभित्रै मोर्चाबन्दी भएको छ ।
वर्षमान पुन र जनार्दन शर्मा विप्लवलाई महासचिवको जिम्मा दिन नहुनेमा एक ठाउँमा रहेको माओवादी स्रोत बताउँछ । स्रोतका अनुसार माओवादीभित्र नारायणकाजी श्रेष्ठ, पुन र शर्माले छुट्टाछुट्टै छलफल चलाइरहेका छन् ।
प्रचण्डसँग निरन्तर निहु खोजिरहेका शर्मा विप्लवलाई भित्र्याउँदा बाहिरिन्छन् कि भन्ने डर माओवादी पंक्तिमा छ । एकता गर्नुपर्छ भन्नेमा भने माओवादीमा एउटै मत रहेको बताइन्छ ।
विप्लवले पनि एक सञ्चारमाध्यममा अन्तरवार्ता दिँदै आगामी चुनाव अघि नै आफूहरु एक हुने दावी गरेका थिए । यद्यपि पार्टीभित्र गुटको राम्रो अभ्यास गरिरहेका पुन र शर्मालाई मिलाउन प्रचण्डलाई सजिलो छैन । नारायणकाजी, वर्षमान र जनार्दन एकै ठाउँमा उभिए भने प्रचण्ड झनै अप्ठ्यारोमा पर्ने माओवादी स्रोतको दावी छ ।