बुधवार, कार्तिक १२ गते २०८३

गहुँगोरो अफ्रिका  (कविता)

गहुँगोरो अफ्रिका  (कविता)

गण्डकी नेपाल
शनिवार, भाद्र १ २०८१
गण्डकी नेपाल
शनिवार, भाद्र १ २०८१
  • मेरो रातो रगत
    मानिसको पवित्र रातो रगत
    नीलो पसिनाको बुँद बनेर जब झर्दछ
    तिमी आफ्ना नरम अञ्जुलीहरूमा आली लगाएर थाप्दछौ 
    जब म त्यो श्रमको सुवासयुक्त पसिना सुँघ्न खोज्छु
    तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्छौ 
    आँखा जुधाउने आँट गर पुजारी
    म बीसौं शताब्दीको ‘अछूत’ हुँ ।
    यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ ।
    म न्याय चाहन्छु
    म मुक्ति चाहन्छु ।

    तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ 
    ओदानीमाथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछ 
    आँखा जुधाउने आँट गर धर्माती मान्छे
    कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर 
    कि मेरो अपमान गर्ने शास्त्रका पानाहरूलाई
    च्यात्ने या जलाउने साहस गर
    म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ
    यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ ।

    तिम्रो बस्तीको सफा भुइँलाई सुँघ 
    बस्तीको हर चोक्टामा मेरो रगतको गन्ध आउँछ 
    आँखा जुधाउने आँट गर सफा मान्छे ।
    कि मेरो रक्त नलीहरूमा पानी भर
    कि आफ्नो दिमागको फोहोर सफा गर 
    म तिम्रो बस्तीको फोहोर सोहोर्ने च्यामे हुँ । 
    यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ ।

    तिम्रो मनका मनोरञ्जित ग्रन्थीहरूलाई च्यात 
    त्यहाँ मेरो सङ्गीतको मधुर सरसराहट सुनिन्छ 
    आँखा जुधाउने आँट गर चेतनायुक्त मान्छे । 
    कि मलाई जनावरसंग बाँध र घाँस खुवाउने आँट गर 
    कि तिमी आफूलाई जनावरभन्दा फरक पार्ने साहस गर 
    म सारङ्गी रेट्ने, मादल ठोक्ने, गाइने हुँ–वादी हुँ । 
    यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ ।

    माटोमा धस्सिएको मेरो जीवनलाई छाम
    त्यहाँ मेरो आँसुको आहाल भेटिन्छ
    आँखा जुधाउने आँट गर अघाएको मान्छे ।
    कि तिम्रो गाँसमा मेरो आँसुको गन्ध छैन भन्ने आँट गर 
    कि मेरो दलित जीवनको सम्मान गर्ने साहस गर 
    म तिम्रो गोरुसँगै माटोमा पौडिने मुसहर हली हुँ । 
    यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !

    तिम्रो पैतालाको जुत्तादेखि शिरको टोपीसम्म  
    तिम्रो दृष्टिको दूर क्षितिजदेखि मुटुको स्पन्दनसम्म 
    म कहाँ छैन ? म सर्वत्र छु ।

    मलाई तिमी कसरी ‘अछूत’ बनाउन सक्छौ ‘छुत’ मान्छे ? 
    कि इतिहासको कठघरामा उभिने आँट गर
    कि आफूलाई बदल्ने साहस गर
    आँखा जुधाउने आँट गर पुजारी । 
    म बीसौं शताब्दीको ‘अछुत’ हुँ ।
    यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ । 
    म अपमानित इतिहासको हिसाब चाहन्छु 
    म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु ।

    – आहुति 

    सम्बन्धित खबर

    © 2026 All right reserved to gandakinepal.com  | Site By : Sobij