मंगलवार, कार्तिक ११ गते २०८३

कस्तो हुनुपर्छ ‘एमाले’ ?

कस्तो हुनुपर्छ ‘एमाले’ ?

बुधवार, माघ ९ २०८१
बुधवार, माघ ९ २०८१
  • नेकपा (एमाले) जनताको बहुदलीय जनवादी क्रान्तिमा माध्यमबाट वैज्ञानिक समाजवादमा पुग्ने लक्ष्य लिएर सङ्गठित भएको राजनैतिक सङ्गठन हो । हरेक राजनैतिक सङ्गठनले आफ्नै निश्चित विचार एवं सिद्धान्त तय गरेको हुन्छ । नेकपा (एमाले) माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादलाई आफ्नो मार्गदर्शक सिद्धान्तको रुपमा मान्दै आएको छ । यही मार्गदर्शक सिद्धान्तको माध्यमबाट समाजवादतर्फको आफ्नो यात्रालाई निरन्तर अगाडी बढाईरहेको छ । 

    यो महान लक्ष्य प्राप्त गर्न सिद्धान्त सही भएर मात्रै पुग्दैन सङ्गठन प्रभावकारी बन्नुपर्दछ । त्यतिले मात्र पुग्दैन जनपरिचालन गर्दै परिर्वतनका लागी सङ्घर्ष जारी राख्नु पर्दछ । यी सबै कार्यभार पूरा गर्न विशाल, सुसङ्गठीत र अनुशासित सङ्गठनको आवश्यक हुन्छ । कार्ल माक्र्सले गहिरो अध्ययन र अनुसन्धानबाट कम्युनिष्ट पार्टीको सिद्धान्तको विकास गर्नुभयो र सङ्गठनको निर्माणको युग पनि सुरु भयो । तर पार्टी सञ्चालन गर्ने सङ्गठनात्मक सिद्धान्तको अनुसन्धान गर्न भ्याउनु भएन । त्यो काम लेनिनले पूरा गर्नुभयो । त्यसैले त हाम्रो सङ्गठनात्मक सिद्धान्तलाई लेनिनवादी सङ्गठनात्मक सिद्धान्त भन्दछौँ । जसलाई जनवादी केन्द्रीयताको सिद्धान्त पनि भनिन्छ । सङ्गठनात्मक सिद्धान्त भनेको सङ्गठन निर्माण गर्ने र सञ्चालन गर्दा अवलम्बन गरिने सिद्धान्त हो । यही सिद्धान्त नेकपा (एमाले) को सङ्गठन निर्माण र सञ्चालनको मार्गदर्शक सिद्धान्त पनि हो ।

    हाम्रो पार्टी नेकपा (एमाले)ले थुप्रै उतारचढाव, हण्डर र ठक्करसँगै विभाजनका दुष्चक्रहरुलाई पार लगाउँदै अगाडी बढिरहेको देशकै लोकप्रिय र शक्तिशाली सङ्गठनका रुपमा पुनःस्थापित भएको छ । कतिपय पार्टीहरु एकपटक ढलेपछि बैशाखी नटेकी उभिन नसक्ने भएका छन् तर नेकपा (एमाले) पटक पटक पछारिएर पनि उठेर कुद्न सक्ने भएको छ । यसको मुख्य कारण सबैभन्दा वैज्ञानिक सिद्धान्त नै हो । यही वैज्ञानिक सिद्धान्तको जगमा बनेको व्यापक सङ्गठनात्मक सञ्जाल नेकपा (एमाले)को बलियो आधार हो । यद्यपि पार्टीको पटक–पटक हुने विभाजन भने सङ्गठनात्मक सिद्धान्तलाई ठिक ढङ्गले पक्रन नसक्नु नै हो । 

    जनवादी केन्द्रीयताको सिद्धान्तलाई ठिक ढङ्गले बुझ्न र कार्यान्वयन गर्न नसक्दा पार्टीले थुप्रै विभाजनका चक्रहरुलाई सामना गर्नु परेको छ । आज पनि विभिन्न रुपमा जनवादी केन्द्रियताको सिद्धान्त विपरीतका क्रियाकलाप जारी नै छ । पार्टी भावना विपरीत प्रस्तुत हुने, अपरिभाषित काममा रमाउने, पार्टी अनुशासन र आचारसंहिता उल्लङ्घन गर्नु, पार्टीका नीति कार्यक्रम, निर्णय र नेतृत्वको विरुद्ध जथाभावी बोल्नु, लेख्नु, शत्रुहरुसँग अनावश्यक साँठगाँठ गर्नु, कर्पोरेट  हाउसको दलाली गर्नु, पार्टी कमिटीबेगर समानान्तर गतिविधि गर्नु, आफ्नै बैठकले गरेका निर्णय कार्यान्वयन नगर्नु, सरकारमा सहभागी वा जनप्रतिनिधिहरु पार्टी निर्णयबाट विमुख हुनु, नेतृत्व चयनका लागी भएका आन्तरिक प्रतिष्पर्धालाई गलत ढङ्गले बुझ्नु र अवान्छित गतिविधी गर्नु, आफ्नै नेता र कार्यकर्तालाई कहाँ, कसरी बद्नाम गर्न सकिन्छ भनी खोजी हिँड्ने र मौका मिल्नासाथ प्रहार गर्ने, पार्टीका आन्तरिक विषयलाई भित्र छलफल गर्ने तर बाहिर सार्वजनिक गर्न हतार गर्ने, नेताको अगाडी चाकडी बजाउने पछाडी कुरा काट्ने, बैठकमा छलफल कम गर्ने बाहिर कुरा गर्नेजस्ता प्रवृत्तिका रुपमा सङ्गठनात्मक सिद्धान्तको उल्लङ्घन हुने गरेको छ । बनेका पार्टी कमिटी विस्तार नहुनु, नियमित रुपमा चल्न नसक्नुको कारण सङ्गठनात्मक सिद्धान्तको उल्लङ्घन हो । 

    हाम्रो पार्टी निर्माण र सञ्चालनमा आत्मसाथ गर्दै आएको सिद्धान्त लोनिनवादी सङ्गठनात्मक सिद्धान्तका विषेशता र मान्यतालाई बलियो गरी पक्रन सके मात्रै सङ्गठन बलियो र बिस्तार हुन्छ । अन्यथा अनावश्यक किचलोमा फस्दै जानेछौँ र क्रान्तिमा अवरोध खडा हुनेछ । 

    १. जनवाद र केन्द्रीयताको द्वन्द्वात्मक सम्बन्ध 

    जनवादी केन्द्रीयताको सिद्धान्त सामूहिक नेतृत्व हो । व्यक्तिगत उत्तरदायीत्वको मान्यतामा आधारित  सिद्धान्त हो । यसको मूल मर्म निर्णय प्रक्रियामा जनवाद र निर्णय कार्यान्वयनमा केन्द्रीयता लागू हुन्छ भन्ने हो । जनवादी केन्द्रीयताको सिद्धान्त भन्नाले जनवाद र केन्द्रीयताबीचको अनुन्याश्रित सम्बन्ध छ भन्ने बुझ्नुपर्दछ । अर्थात् यी दुईबीच यस्तो सम्बन्ध हुन्छ जुनलाई छुट्याउन सकिँदैन । जनवादबिना केन्द्रीयता र केन्द्रीयताबिनाको जनवादको अस्तित्व असम्भव हुन्छ । 

    सर्वसम्मत वा त्यो हुन नसके बहुमतको मतलाई ग्रहण गर्नु नै जनवादी हुनु भन्ने बुझ्नु पर्दछ । जनवाद भनेको जस्तो भए पनि प्रतिष्पर्धा, अल्पमत र बहुमत विभाजन र अन्त्यहिन बहस हो भन्ने ठान्नु गलत बुझाई हो । बहुमतको निर्णय नमान्नु वा तिरस्कार गर्नु अल्पमतको विचार वा मतलाई लाद्न खोज्नु तानाशाही प्रवृत्ति हो । 

    एउटा व्यक्तिले आफू सङ्गठित कमिटी वा सँस्थामा स्वतन्त्रतापूर्वक आफ्नो विचार वा मत जाहेर गर्दछ । अतः जनवादको भरपुर प्रयोग गरिन्छ । जब सर्वसम्मति वा बहुमतको आधारमा निर्णय हुन्छ तब जनवादले केन्द्रीयताको रुप धारण गर्दछ । आफ्नो मत अल्पमतमा परेको खण्डमा पनि निर्णयलाई निर्देशनको रुपमा कार्यान्वयन गर्नुपर्दछ । यसरी केन्द्रीयताले जनवादको रक्षा गर्दछ । 

    निर्णयमा पुग्नुपूर्व व्यापक जनवादको प्रयोग गर्ने र निर्णयपछि केन्द्रीयता सक्रिय हुने हुँदा जनवादबिना केन्द्रीयता र केन्द्रीयताबिना जनवादको अस्तित्व हुँदैन । तसर्थ जनवाद र केन्द्रीयताबीच द्वन्द्वात्मक सम्बन्ध रहन्छ । 

    जनवाद र केन्द्रीयताबीच सन्तुलन कायम गर्दै ठिक ढङ्गले प्रयोग गर्दा संगठन प्रभावकारी ढङ्गले सञ्चालन हुन्छ । सन्तुलन गडबड हुँदा सङ्गठनमा पनि गडबढ हुन्छ । आफ्ना स्वार्थ अनुसार जनवाद र केन्द्रीयताको व्याख्या गर्दा ठिक ढङ्गले अगाडी बढ्न सकिँदैन । अततः जनवादबिनाको केन्द्रीयता निरङ्कुश बन्दछ भने केन्द्रीयताबिनाको जनवाद अराजक हुन्छ । जनवादले अनुशासनको माग गर्दछ  भने केन्द्रीयताले कर्तव्यको माग गर्दछ । 

    आज जनवादी केन्द्रीयता कम्युनिष्टहरुको मात्र सिद्धान्त रहेन । दुनियाँका सम्पूर्ण लोकतान्त्रिक सङ्गठनहरु भनेर जा नभनेरै भए पनि यही सिद्धान्तलाई अङ्गिकार गरिरहेका छन् । बहुलवादी व्यबस्थामा निर्वाचनका माध्यमबाट निर्णय गर्न पाउनु जनताको जनवाद हो । जनवादको प्रयोगपछि आएको परिणामबाट बनेको संस्था वा निर्णयको अधिनमा हरेक निर्णयकर्ता रहनु वा निर्णयबाट निर्देशित हुनु उनीहरुको जनवादको रक्षा गर्नु हो । जुन उनीहरुको जनवादी अधिकारबाट बनेको केन्द्रीयता हो ।

    २. जनवादी केन्द्रीयताको सार र रुप

    दुनियाँका हरेक चिजको सार पक्ष र रुप पक्ष भए जस्तै जनवादी केन्द्रीयताको पनि सार र रुप पक्ष हुन्छ । जनवादी केन्द्रीयताको सार पक्ष भनेको पार्टीको सिद्धान्त, विचार, नीति र वर्गको पक्षधरता हो । भने रुप पक्ष भनेको पार्टीको सङ्गठनात्मक संरचना वा औपचारिक सङ्गठनात्मक प्रक्रिया हो । कहिलेकाहीँ सार पक्षबाट अलग राखेर रुप पक्षलाई मात्र जनवादी केन्द्रीयता भन्ने धारणाहरु आउने गर्दछन् र गडबढी सुरु हुन्छ । जुन नितान्त गलत हो । 

    माक्र्सवाद, लेनिनवाद र जनताको बुहदलीय जनवादको मार्गदर्शनमा क्रान्ति सम्पन्न गर्न पार्टीको सङ्गठनात्मक संरचनाहरु निर्माण भएका हुन् । अर्थात् पार्टीले जनवाद वा केन्द्रीयताको उपयोग गर्दा माक्र्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवाद मार्गदर्शमा हुनुपर्दछ । पार्टी नीति निर्णय, कार्यनीति र कार्यक्रमहरु अनुरुप हुनुपर्दछ तथा श्रमजीवि वर्ग पक्षधरताबाट बिचलित हुनुहुँदैन । सङ्गठनात्मक सिद्धान्तलाई यसरी सुत्रबद्ध गर्न सकिन्छ :

    – हरेक व्यक्ति सङ्गठनको मातहात हुन्छ ।
    – तल्लो कमिटी माथिल्लो कमिटीको अधिनमा हुन्छ ।
    – अल्पमत बहुमतको मातहात हुन्छ ।
    – सम्पूर्ण पार्टी सदस्य केन्द्रीय कमिटीको मातहात हुन्छ ।
    – केन्द्रीय कमिटी राष्ट्रिय महाधिवेशनको मातहात हुन्छ ।
    – राष्ट्रिय महाधिवेशन पार्टी सदस्यहरुको नियन्त्रणमा हुन्छ । 

    हाम्रो पार्टी नेकपा (एमाले)को सर्वोच्च संस्था राष्ट्रिय महाधिवेशन हो भने एक महाधिवेशनबाट अर्को महाधिवेशनसम्म सर्बोच्च संस्थाको रुपमा महाधिवेशनबाट निर्बाचित केन्द्रीय कमिटी नै रहेन गरेको छ । 

    ३. स्वतन्त्रता र अनुशाशनको अन्तरसम्बन्ध 

    आफ्ना विचार र मत राख्न पाउने स्वतन्त्रता हरेक मान्छेको नैसर्गिक अधिकार हो । आधुनिक युगमा स्वतन्त्रतालाई अनेक ढङ्गबाट व्याख्या गर्दै आइएको भए पनि आफ्ना विचार निर्वाध रुपमा व्यक्त गर्न र प्रचार गर्न पाउने मानिसको स्वतन्त्रतालाई वैचारिक स्वतन्त्रता पनि भनिन्छ । 

    आधुनिक युगमा ज्ञान, विज्ञान, प्रविधि र सूचनामा आएको व्यापक आधुनिकीकरणसँगै मानिसको स्वतन्त्रताको क्षेत्रहरु पनि विस्तारित र वैज्ञानिक हुँदै आएका छन् । जे जस्तो भए पनि निरपेक्ष स्वतन्त्रताले  समाज, पार्टी, परिवार र व्यक्तिलाई हित भने गर्दैन । अर्थात् स्वतन्त्रताको रक्षा स्वच्छन्दतावादले गर्न सक्दैन । दुनियाँको हरेक चिज स्वतन्त्र छ तर कुनै न कुनै नियममा अनुबन्धन हुन्छ । ब्रम्हाण्डमा पिण्डहरु स्वतन्त्र देखिन्छन् तर तिनीहरु गुरुत्वकार्षणको निश्चित नियममा चल्दछन्, र त अस्तित्वमा छन् । न्युटन, ईलेक्ट्रोन, प्रोटोनहरु निश्चित नियमबाट सञ्चालित हुन्छन् र परमाणुको अस्तित्व रहन्छ । त्यस्तै विद्यालय, कलेज, परिवार, सङ्घसँस्था, पार्टी वा समाज सबै एउटा नियम वा विधिमा बाँधिएको हुन्छ । समाजका मुल्य मान्यता, सँस्कार, सँस्कृति र धर्म यही नियमको उपज हुन् ।  समाजको यस प्रकारको नियमलाई मानिसले पालना गर्नुलाई नियममा अनुबन्धित भएर चल्नुलाई अनुशासन भनिन्छ । 

    प्रकृतिको नियम तोड्दा प्रलय हुन्छ । विध्वंश हुन्छ । सानो हाम्रो परिवारमा परिवारका नियमहरु तोड्दा परिवारको नै अस्तित्व सङ्कटमा पर्दछ भने समाज पनि समाजका नियमहरु उल्लङ्घन भए सामाजिक सम्बन्धहरु समाप्त हुन्छन् । त्यस्तै एउटा राजनीतिक पार्टीमा पनि पार्टीका मूल्य–मान्यता, वैधानिक व्यबस्थाहरु तोड्नु भनेको अनुशासन तोड्नु हो । अनुशासन तोड्नु भनेको पार्टीलाई सङ्कटमा पार्नु हो । पार्टी अनुशासन भनेको पार्टीका सिद्धान्त, कार्यक्रम, नीति, निर्णय र निर्देशनलाई पालन गर्ने विषय हो भन्ने बिर्सनु हुँदैन ।  अर्थात् पार्टी र समाजकै लागी स्वतन्त्रता जति महत्वको विषय हो त्यति नै अनुशासन पनि महत्वपूर्ण हुन्छ । स्वतन्त्रताबिनाको अनुशासन तानशाही हुन्छ भने अनुशासनबिनाको स्वतन्त्रता स्वच्छन्दवादी हुन्छ । एउटा कम्युनिष्ट पार्टीभित्र अनुशासनको सीमाभित्र स्वतन्त्रताको व्यबस्था गरिएको हुन्छ । अर्थात् अनुशासनबिनाको स्वतन्त्रता र स्वतन्त्रताबिनाको अनुशासन अस्तित्व सम्भव छैन र हुँदैन । 

    ४. सङ्गठनात्मक सिद्धान्तका मुख्य दुई पक्ष 

    पहिलो, पार्टी सदस्यका काम कर्तव्य र अधिकारको पक्ष

    लेनिनका अनुसार पार्टी सदस्य बन्न अनिवार्य तीन सर्त हुनुपर्छ । जुन निम्न हुन् :
    १. पार्टीका सिद्धान्त, कार्यक्रम र नीति अङ्गिकार गरी तिनको कार्यान्वयनमा तत्पर रहने । 
    २. पार्टीलाई नियमित रुपमा आर्थिक सहयोग गर्न तयार रहने ।
    ३. पार्टी कमिटीमा सङ्गठित भएर त्यसले दिएको जिम्मेवारी पुरा गर्न तयार रहने । 

    दोस्रो, पार्टी निर्माणको प्रक्रिया र निर्णय कार्यान्वयनको पक्ष
    १. बैठक, भेला, अधिवेशन
    २. शैली, पद्धति र अनुशासन 
    ३. कम्युनिष्ट आचारण, नैतिकता र जीवनशैली 

    ५. अन्तरविरोध र त्यसको समाधान 

    हामी कम्युनिष्टहरु मूल रुपमा अन्तरविरोधका दुई पक्षहरुका बारेमा सोच्दछौँ । एउटा शत्रुतापूर्ण अन्तरविरोध र अर्को मित्रतापूर्ण अन्तरविरोध । पार्टीभित्रको अन्तरविरोध मित्रतापूर्ण अन्तरविरोध हो । शत्रुतापूर्ण अन्तरविरोध वर्ग सङ्घर्षका शत्रुपक्षसँगको अन्तरविरोध हो । दुवै अन्तरविरोधका समाधान गर्ने आ–आफ्नै तरिकाहरु छन् । शत्रुतापूर्ण अन्तरविरोधको समाधान सङ्घर्ष र निषेधका विधिबाट हुन्छ भने मित्रतापूर्ण अन्तरविरोधको समाधान संवाद, छलफल, अन्तरक्रिया, आलोचना र आत्माआलोचनाको विधिबाट गर्नुपर्दछ । कहिलेकाहीँ कमरेडहरु मित्रतापूर्ण अन्तरविरोधका समाधान गर्न शत्रुतापूर्ण अन्तरविरोधको हल गर्न अपनाउने तरिका अपनाउन खोज्दा पार्टी विभाजित भएको छ । यस्तो बुझाई र गराई सर्वथा गलत छ । 

    पार्टीभित्र विवाद हुनु र अन्तरविरोध हुनु स्वभाविक हो । पार्टी जीवनका लागी यो अनिवार्य पनि छ । माक्र्सवादको नियम छ कि वस्तुभित्र रहेको दुई वा दुई भन्दा बढी बिपरीत स्वभावका तत्वहरुबीचको सङ्घर्ष र एकताले त्यो वस्तुको विकास हुन्छ । पार्टीभित्र हुने यही अन्तरविवादले पार्टीलाई जिवन्त बनाउँछ र विकास गराउँदछ । तर पार्टीभित्रको अन्तरविरोधलाई जनवादी केन्द्रीयताको सिद्धान्तका आधारमा आलोचना र आत्मआलोचना, समिक्षा र सिंहावलोकनका विधिबाट हल गर्नुपर्दछ । 

    मानव चेतनाले वस्तुगत संसारलाई प्रतिविम्बित गर्दछ । वस्तुगत दुनियाँको विकास असमान छ । यसको तात्पर्य मानव चेतनाको विकास पनि असमान नै हुने भयो । यही चेतनाको असमानताले गर्दा केही मानीसहरु समस्याको जटीलतालाई छिटो बुझ्छन् र समाधान पनि छिट्टै निकाल्छन् जो अगुवा हुन्छन् । केही मानिसहरु समस्याको जटिलतालाई ढिलो बुझ्छन् र पछौटे हुन्छन् । यस्तै अनेकन कारणहरुले पार्टीभित्र पनि अगुवा र पछुवा, युवा र बुढो, सम्पन्न र विपन्न, ईमान्दार र वेइमान, स्वार्थी र त्यागी, सक्रिय र निस्कृय, शिक्षित र अशिक्षित, नयाँ र पुरानो आदिबीचमा अन्तरविरोधहरु जन्मने गर्दछन् । यसलाई स्वभाविक रुपमा ग्रहण गर्नुपर्दछ । किनकि हामी बाँचेको समाज नै यस्तै छ । तसर्थ यस्ता अन्तरविरोधहरुबाट भाग्ने होइन कि वैज्ञानिक ढङ्गले हल गर्ने प्रयत्न गर्नुपर्दछ । 

    पार्टी कमिटीमा सवाल नउठाउने, दर्ज नगर्ने तर सार्वजनिक क्षेत्रमा बोल्ने, जिम्मेवार ठाउँमा कुरा नउठाउने तर मिडियाबाजी गर्ने, व्यक्तिको अगाडी कुरा नगर्ने तर पिँठ्यु पछाडी कुरा काट्ने, खुल्लमखुल्ला कुरा नगर्ने तर जालझेल र षडयन्त्र गर्ने, बैठकमा छलफल नगर्ने तर दुई चार जना बोकेर कोठे बैठक गर्नेजस्ता क्रियाकलापले अन्तरविरोध ठिक ढङ्गले बुझ्न र समाधान गर्न सकिँदैन । यस प्रकारका प्रवृत्तिहरु विरुद्ध गम्भीर वैचारिक सङ्घर्षबाट समाधान गर्दै लैजानु पर्दछ । 

    पार्टीभित्रको अन्तरविरोधले पार्टी काममा बाधा व्यबधान खडा गर्दछ । पार्टी नेता र कार्यकर्ताकाबीचको विवादले इमान्दार कार्यकर्तामा निराशा, पार्टी प्रवेश गर्न चाहनेहरुमा हिच्किचाहट र जनतामा अविश्वास सिर्जना हुन्छ । अन्तरविरोधलाई गलत तरिकाले सञ्चालन गरियो भने पार्टी विभाजनसम्म हुन सक्दछ । जुन तितो अनुभव हामीले पटक पटक व्यहोरेका छौँ । त्यसैले अन्तरविरोधलाई समयमा नै सहि ढङ्गले समाधान गर्न प्रयत्न गरिनुपर्दछ । 

    कतिपय मानिसहरु पार्टीमा निहित स्वार्थका लागी आएका हुन्छन् । उनीहरुको नियत नै खराब हुन्छ । र पार्टीका लागी पनि खराबी नै गर्दछ । त्यस्ता मानिसहरु जो पछाडी कुरा काट्ने, षडयन्त्र गर्ने, गुटबन्दी गर्नेजस्ता अराजक गतिविधि गर्दछन् । माक्र्सका बेला वाकुतिन र लासाल, लेनिनका बेला मार्तोभ, कामनेभ, जीनीभेमजस्ता । यस्तै माओका बेला च्याङ क्वो याओ र पुष्पलालका बेला केशरजङ्ग रायमाझीहरु अराजक गतिविधि गर्दथे । त्यसरी नै समाप्त भए । गुटबन्दी र अराजकताजस्ता गलत कार्यबाट समाप्त हुनु नै थियो र भयो । गलत कर्मबाट कसैको कल्याण भएको छैन र हुँदैन । त्यसले हरेक क्रान्तिकारीले आफूलाई आफैँले हजारौँ पटक जाँच्नुपर्दछ । अर्थात् पार्टीभित्र गुटबन्दी गर्नु हुँदैन । नेता वा कार्यकर्ता कसैको पनि पछाडी कुरा काट्नु हुँदैन । जे भन्ने हो अगाडी नै खुल्लम खुल्ला भन्नुपर्दछ । आलोचना र आत्मालोचना गर्दै अगाडी बढ्नु नै वैज्ञानिक विधि हो । 

    ६. आलोचना–आत्मालोचना 

    मनिस आफैँमा अवगुणसहितको गुणी प्राणी हो । गल्ति, कमजोरी हरेक मानिसबाट हुन सक्दछ । त्यस्तै हामीबाट पनि, हरेक नेता र कार्यकर्ताहरुबाट पनि । त्यसैले गल्ति हुनु वा कमजोरी गर्नुलाई डरलाग्दो गरी बुझ्नु हुँदैन । थप शिक्षा लिने माध्यम बनाउनु पर्दछ । कुनै बोला कम्युनिष्टहरु विशेष धातुले बनेका हुन्छन् भनिन्थ्यो । किनकि कम्युनिष्ट नेता कार्यकर्तालाई कुनै पनि प्रलोभन र यातनाले गलाउन सक्दैनथ्यो । त्यसको प्रमुख कारण कडा अनुशासन थियो । कडा अनुशासनमा राख्ने कडी आलोचना–आत्मालोचना हो । हरेक नेता कार्यकर्तालाई आलोचना–आत्मालोचनाले फलामे अनुशासनमा बाँधेको हुन्छ । 

    पहिले–पहिले अझ भनौँ २०५६र५७ सम्म पनि पार्टीका हरेक बैठकमा कार्यसूचिको अन्तिम विषय आलोचना–आत्मालोचना अनिवार्य रहेने गर्दथ्यो । तर आजभोलि यो विषय बन्न छाडेको छ र विषय बनाउन पनि कठिन बन्दै गईरहेको छ । यसका दुई कारण छन् : पहिलो, कमिटीहरु ठूला हुन जाँदा हरेक कमरेडहरुबीच छलफल गर्न कठिनाई हुनु र दोस्रो, आचोलना र आत्मालोचनाप्रतिको गलत बुझाईले पनि ठिक ढङ्गबाट छलफल नचल्नु । आलोचना गर्दा बदला लिने, रिस पोख्ने उद्देश्यले होइन कि कमजोरीबाट मुक्त गर्ने उद्देश्यले गर्नुपर्दछ । आजकल त्यस्तो हुन सकेको छैन । 

    क्रान्तिकारीले मुलतः आत्मालोचनालाई प्राथमिकता दिनुपर्दछ । व्यक्ति र कमिटीहरुबाट हुने गल्ति कमजोरीहरुबाट बच्न र बचाउन आलोचना–आत्मालोचना कार्यपद्धति धेरै महत्पपूर्ण हुन्छ । जसरी समय समयमा हामी सवारी साधनको सर्भिसिङ गर्दछौँ, त्यस्तै आलोचना–आत्मालोचनाले सङ्गठन र व्यक्तिलाई क्रान्तिकारी योग्यता अभिवृद्धि गर्न सहयोग पुग्दछ । 

    आजको समयमा आलोचना–आत्मालोचनालाई पुरानै तरिकाबाट चलाउन असम्भव देखिँदै आएको छ । यसका लागी कसरी प्रभावकारी निरन्तरता दिन सकिन्छ ? कसरी प्रभावकारी र वैज्ञानिक बनाउन सकिन्छ भनि गहन चिन्तन गर्नुपर्ने बेला भएको छ । रिपोर्टिङ र आलोचना–आत्मालोचना पार्टी सङ्गठन सञ्चालनका लागी निकै महत्पूर्ण हुन्छ । यसका लागी कुनै न कुनै प्रणालीको विकास हामीले गर्नु नै पर्दछ । त्यसका लागी निरन्तर छलफल र चिन्तन गरौँ ।

    हामी जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्तलाई मार्गदर्शक सिद्धान्त भन्दछौँ । यसैको आलोकमा अन्तरपार्टी लोकतन्त्रको अभ्यास गर्दै अनुशासित एवं गतिशील पार्टी निर्माण गर्ने अभियानमा छौँ । निरन्तर जनताको निगरानीमा रहँदै प्रतिस्पर्धाद्वारा श्रेष्ठता हासिल गरेको नेता, कार्यकर्ता  सदस्यहरुको पार्टी बनाउन चाहन्छौँ । देशको बलियो राष्ट्रिय शक्तिका रुपमा पार्टीलाई स्थापित गर्न चाहान्छौँ । 

    हाम्रो यो चाहना पूरा गर्न हामीले केही समस्याहरुको सामना गरिरहेका छौँ । पार्टीभित्र समय–समयमा देखिने अन्तरविरोधहरुले गुटको आकार ग्रहण गर्ने, असन्तुष्टहरुको समूह बनाउने, निश्चित व्यक्तिमाथि शत्रुता साँध्ने, षडयन्त्र गर्ने, कुण्ठा र पुर्वाग्रहबाट ग्रसित भई निराशा बाँड्ने, अवसरको लागी अति आशक्ति देखाउने, भने जस्तो भएन भने ‘आफ्नो टाउको फुटेपछि मितको पनि टाउको बेलैसरी’ भनेर अवसरवादी चरित्र देखाउनेजस्ता विकृतपूर्ण, निम्न पूँजीवादी प्रवृत्ति गम्भीर ढङ्गले देखिन थालेको छ । यो प्रवृत्ति पार्टी निर्माणको लागी गम्भीर समस्याका रुपमा देखिदैँ छ ।

    पार्टी सिद्धान्तसँग मेल नखाने यस्ता कुरा जोसुकैले गरेको किन नहोस्, त्यस्ता कुराहरुलाई तत्कालै अस्वीकार गर्नुपर्दछ । यस्तो अवस्थामा आफ्ना अनन्य मित्र, आफन्त, छिमेकी, पुराना मित्र, जिल्लाबासी, वडाबासी भनेर त्यस प्रकारको प्रवृत्तिसँग सम्झौता गर्नुहुँदैन । हामी मित्रता वा आत्मीयताको कारण गलत प्रवृत्ति बोकेका मानिससँग निश्चित दुरी राख्न चुक्यौँ । उसका गलत प्रवृत्तिलाई अस्विकार गर्न आनकानी गर्यौ भने त्यसप्रकारका मानिसहरुको दलदलमा फस्दै जानेछौँ र हामी गलत प्रवृत्तिको शिकार बन्नेछौँ । 

    आजको दुनिया विज्ञान, प्रविधि र सूचनाको दुनिया हो । क्वान्टम थ्यौरीसँगै भौतिक विज्ञानले नयाँ फड्को मारेको छ भने आर्टिफिसियल ईन्टेलिजेन्स (एआई)ले दुनियालाई तिरीमिरी पारेको छ । अर्थात् समय, परिस्थिति, चेतना, आवश्यकताहरु तिव्र गतिले परिवर्तन भईराखेको छ । यस्ता परिवर्तनले सिद्धान्त र गतिविधिहरुलाई प्रत्यक्ष प्रभाव पारेको हुन्छ । सोही अनुसार हाम्रो पार्टीका सिद्धान्तलाई थप विकास गर्दै लैजानुपर्दछ । त्यसका लागी गहिरो अध्ययन, अनुसन्धान र अनुभवका आधारमा नयाँ बहसको आवश्यकता पर्दछ र निरन्तर बहस गर्दै अगाडी बढ्नुको हामीसँग अर्को विकल्प छैन । 

    लेखक न्यौपाने नेकपा (एमाले) पोखरा महानगर कमिटीका पूर्वअध्यक्ष हुन् ।

     

    सम्बन्धित खबर

    © 2026 All right reserved to gandakinepal.com  | Site By : Sobij